Friday, July 13, 2018

राहत होइन, बाढीबाट जोगाइदेऊ


राहत होइन, बाढीबाट जोगाइदेऊ
News source: eKantipur
परासी — पश्चिम नवलपरासीका गण्डक प्रभावित बासिन्दालाई बाढी आउनु, बगाउनु र घर भत्काउनु नौलो लाग्नै छाडिसक्यो । एक दशकभन्दा अघिदेखि वर्षातका धेरै दिन–रात उनीहरूले ज्यान र अन्नबाली जोगाउने उपायमै बिताएका छन् । उनीहरूका लागि बाढीपछि कोही आएर राहत देलान् र छाक टारौंला भनेर बस्नुको विकल्प छैन । ऐलानी जग्गामा बसोबास रहेको फडकीटोलका धेरैलाई सुरक्षित स्थानमा जान मन छ तर बस्ती छाडेर जान सक्दैनन् । किनभने विपन्न र दलित समुदायको बस्तीका अधिकांशसँग लालपुर्जा छैन । 

सुस्ताका ७० वर्षीय रामेश्वर चमार रात पर्नासाथ चिन्तामा डुब्छन् । ‘बिहान र दिउँसो पानी पस्यो भने उद्धार पनि छिटो हुन्छ,’ उनले भने, ‘तर, रातमा बस्ती डुबायो भने बालबच्चा र बस्तुभाउ जोगाउनै मुस्किल हुन्छ ।’ उनी ४० वर्षअघि बसाइँ सरेर यहाँ आउँदा बस्ती डुब्दैनथ्यो । सिँचाइका लागि नहर, खानेपानी र उर्वर भूमि देखेपछि उनलाई यो बस्ती छाड्न मन लागेन । बाँचुन्जेल यहीं बस्ने निधो गरेका उनलाई अहिले भने बाढीले हरेक रात खेद्न खोज्दा चिन्तित छन् । खेतीपाती लगाउने र फुर्सदमा नजिकैको बजारमा मजदुरी गरेर परिवार पाल्दै आएका उनको अन्नपात ०६३ सालमा बस्ती डुब्दा पहिलोपटक सबै बगाएको थियो । तर, त्यसयताका हरेक वर्षामा बाढी पस्न थालेपछि उनीसँगै सयौं स्थानीय आजित छन् । वर्षभरि दु:ख गरेर उब्जाएको खेती बगाएपछि मजदुरी गरेर परिवार पाल्नेलाई वर्षै धौ–धौ हुन्छ । ‘राज्यबाट केही राहत पाइएला भन्ने आशा गरे पनि अहिलेसम्म केही पाइएको छैन,’ उनले भने, ‘बाढी आएर सबै बगाए पनि अर्को ठाउँमा सर्न सकिएन ।’ सम्पत्तिका रूपमा भएको अन्नपात, बस्तुभाउ बग्दा जसोतसो ज्यान जोगाएको उनले बताए । 

१२ वर्ष पहिले बस्तीमा पानी पस्दैनथ्यो तर केही वर्षयता सामान्य बाढी आउँदा पनि बस्तीमै पुग्छ । पहिले खोला गहिरो थियो, नहरमा पनि अहिलेजस्तो धेरै आउँदैन्थ्यो । वर्षामा आउने बाढीले खोला र नहरमा बालुवा, माटो जम्मा भएर पानीको सतह बढदा बस्ती नै जोखिममा परेको हो । बासमती चमार गत वर्षको बाढीमा अन्नपात घरमै छाडी छोराछोरी लिएर नजिकैको विद्यालयमा आश्रय लिन पुगेकी थिइन् । अन्नपात र बस्तुभाउ सबै बगे पनि तीन दिनसम्म गाउँलेले सामूहिक रूपमा स्कुलमै बसेर ज्यान बचाए । बाढीले १ सय १५ घर जलाम्य भए । तर, पीडितले राहत र सुरक्षित बास पाएनन् । बाढीको समयमा दुई चार किलो चामल, भुजा र नुनबाहेक अरू आश्वासन मात्र पाए ।  तराईमा बाढी आएपछि विषालु सर्प र ससाना जीवको बिगबिगी हुन्छ । खुला स्थानमा रात काटदा कतिलाई सर्पले टोकेर ज्यान लिन्छ । शुद्ध पिउने पानीको अभावमा झाडापखालादेखि ज्वरोले बालबच्चा र वृद्धवृद्धालाई छिटो आक्रमण गर्छ । स्थानीय राईपुरवा खोला र ससाना नहरमा बर्सेनि पानीको सतह बढ्छ ।

‘हाम्रो दु:ख कसले बुझ्ने ? एक दिन आएर चिउरा र चाउचाउ बाँडेपछि कोही फर्किंदैन,’ बासमतीले भनिन्, ‘हामीलाई राहतभन्दा पनि बाढीबाट जोगाइदिए पुग्छ ।’ खोला बस्तीमा नपस्ने गरी गहिरो र भरपर्दो तटबन्ध गरिदिन पनि उनले आग्रह गरिन् । पश्चिम नवलपरासीका प्रतापपुर, सरावल, सुस्ता गाउँपालिका बाढी र प्राकृतिक जोखिमको उच्च प्रभावित हुन् । सरकारी एवं गैरसरकारी संघसंस्थाले यहाँ जोखिम न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । तर, दीर्घकालीन समस्या समाधानमा कसैको ध्यान नपुग्दा बर्सेनि पीडितको संख्या बढदो छ । बाढीले अघिल्लो वर्ष मात्र नवलपरासीमा ६ सयभन्दा बढी घर पूर्णरूपमा बगे भने ३० हजार परिवार प्रभावित भएका थिए । 'प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला विपत् व्यवस्थापन समिति छ । तर, बजेट ज्यादै न्यून रहेकाले तत्कालै राहत र उद्धार गर्न सधंै कठिनाइ हुने गरेको उनको गुनासो छ । मन्त्रालयमा जानकारी गराएर अख्तियारी आउन अर्को वर्ष कुर्नुपर्ने बाध्यता समितिलाई छ । त्यसले राहत वितरण प्रभावकारी बन्न सकेको छैन । उद्धारका लागि समिति भए पनि सामग्रीको अभाव छ । नारायणी नदी आसपासको क्षेत्र र खहरे खोलाको तटीय क्षेत्रलाई उच्च जोखिममा राखेर सोही अनुसारको तयारी गरिएको प्रजिअ देवेन्द्र लामिछानेले बताए । नारायणी नदीको गण्डक क्षेत्रको सुस्ता, कुडिया, नर्सही, पक्लिहवा, भुजहवा, सोमनी, प्रतापपुरलगायत बाढीको उच्च जोखिममा छन् ।

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दीपक गुप्ताका अनुसार बाढीको जोखिम नियन्त्रण गर्न यस वर्ष तटबन्ध र खोला सफाइ गरिएको छ । ‘जनप्रतिनिधि नहुँदा जनता पीडित हुनुपरेको सत्य हो,’ उनले भने, ‘अब हामीले पीडितलाई तत्काल उद्धार र राहत दिन सक्ने गरी योजना बनाएर काम गर्छौं ।’ बाढी जिल्लाकै समस्या भएकाले सबै स्थानीय तह मिलेर काम गरिरहेको उनले बताए । प्रभावित क्षेत्रमा पूर्वसूचना केन्द्र 
बाढीपहिरोको उच्च जोखिम रहेको पश्चिम नवलपरासीका तटीय क्षेत्रमा विपत् व्यवस्थापनको तयारी सुरु भएको छ । नारायणी नदी तथा ससाना खहरे खोलाको बाढीले बर्सेनि क्षति पुर्‍याउने सुस्ता, प्रतापपुर, पक्लिहवालगायत क्षेत्रमा जोखिम न्यूनीकरण तयारी सुरु गरिएको हो ।सुस्तामा नारायणीको बाढीले खेतीयोग्य जमिन बर्सेनि कटान र बस्ती डुबाउने गर्छ । पानी पर्नासाथ धेरैमा त्रास बढ्छ । त्यही त्रास र क्षति कम गर्न पानीको सतह मापन गर्ने प्रविधि राखिएको हो ।

पानीको सतह ८ मिटरभन्दा बढी भएपछि रातो बत्ती बलेर साइरन बज्छ । जसले स्थानीय र प्रशासन दुवैलाई बाढीको पूर्वसूचना मिल्छ । स्थानीय विपत् व्यवस्थापन समितिका सहजकर्ता मन्सी गुप्ताले पूर्वसूचना केन्द्रको सहयोगले क्षति न्यूनीकरणमा सहयोग पुग्ने बताए । ‘कम्तीमा पनि अब बाढी आउँदैछ भन्ने जानकारी त हुन्छ,’ उनले भने, ‘त्यसले बालबालिका, वृद्धवृद्धा र महत्त्वपूर्ण सामग्रीको सुरक्षा गर्न सजिलो हुनेछ ।’

No comments:

Post a Comment