Showing posts with label अवैध रूपमा कामदार टर्की पठाइयो. Show all posts
Showing posts with label अवैध रूपमा कामदार टर्की पठाइयो. Show all posts

Tuesday, August 7, 2018

अवैध रूपमा कामदार टर्की पठाइयो


सञ्चालक फरार, म्यानपावरको काम भने निरन्तर 

काठमाडौँ — साकुरा इन्टरनेसनल इम्प्लोइमेन्ट कन्सल्टेन्सीले अवैध ढंगले टर्कीमा कामदार पठाउने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई साकुराले कामदारसँग लाखौं रुपैयाँ असुल गरी टर्की पठाइरहेको पीडितहरूले बताएका छन् ।
टर्की पुगेर काम नपाएपछि फर्केका पीडित कामदारले साकुरालाई कारबाही गर्न वैदेशिक रोजगार विभागमा प्रमाणसहित उजुरी दिएका छन् । ‘हामी बूढाबूढीलाई साकुराका सञ्चालक महेन्द्र राना मगर, अर्जुन गिरी र ईश्वर राना मगरले दिल्लीबाट टर्की पठाए,’ काभ्रेका सुरज लुइँटेलले भने, ‘अन्तर्वार्ता दिने बेला कानुनी रूपमा पठाउने भनिएको थियो । तर, दिल्लीबाट पठायो ।’
तीनै आरोपी फरार छन् । महेन्द्र र ईश्वर रानाले काठमाडौंमा पैसा उठाउने र दिल्लीमा बसेर अर्जुन गिरीले कामदार पठाउने गरेका छन् । सुरज आफन्तको सहयोगमा काठमाडौं फर्केका छन् । ‘रकम जुटाउन नसकेपछि आफ्नै श्रीमतीलाई टर्कीबाट ल्याउन सकेको छैन,’ उनले भने, ‘श्रीमती टर्कीमै भेटिएका साथीहरूको सहयोगमा बसिरहेकी छिन् ।’

सुरज महेन्द्रबाट पैसा फिर्ता लिएपछि श्रीमती झिकाउने आशाबाट टर्कीबाट आएका थिए । ‘पैसा नपाएर म यता पागल झैं भौंतारिरहेको छु । उता श्रीमती रुँदै बसेकी छिन्,’ उनले भने । टर्की जान उनीहरूले साकुरा म्यानपावरका सञ्चालक रानालाई १५ लाख रुपैयाँ दिएका थिए । ‘केयरगिभर काममा मासिक ८ सय डलर तलब हुन्छ भनेर गएका थियौं । उता गएपछि काम दिलाउन सकेन । खाना पनि हामी आफैंले जुटाएका हौं,’ उनले भने ।

टर्कीका एजेन्टले उनीहरूलाई एउटा गार्मेन्ट उद्योगमा ३५ दिन थुनेर काममा लगाएको थियो । ‘टर्कीको एजेन्टले तीन सय ५० डलर कमिसन पाएपछि एउटा गार्मेट उद्योगमा पठायो । गार्मेन्टका मालिक बिहान ८ बजे आएर सटर खोलिदिन्थ्यो । दैनिक १५/१६ घण्टा काममा लगाउँथ्यो । त्यो काम गर्न नसक्ने भएपछि मालिकलाई ३ सय ५० डलर बुझाएर त्यहाँबाट बाहिर निस्कन पायौं,’ उनले भने, ‘त्यहाँ काम गर्दा मेरो नाकमुखबाट रगत आयो ।’

उनीहरूलाई इस्तानबुलको काक्सिन भन्ने ठाउँमा एउटा कोठाभित्र थुनेर राखिएको थियो । ‘मैले पैसा त पाइनँ । श्रीमतीलाई समेत झिक्न सकिनँ,’ उनले भने, ‘मेरो जीवन नै टक्क रोकिएको जस्तो भइरहेको छ ।’

पीडितले साकुराविरुद्ध उजुरी गरे पनि विभागबाट कारबाही अगाडि बढेको छैन । साकुराले जापान र पोल्यान्ड जाने कामदारसँग पनि पैसा उठाइरहेको छ । ‘श्रमस्वीकृतिबिना कामदार पठाउँदा झन् मानव तस्करीविरुद्ध तुरुन्तै कारबाही गर्नुपर्ने हो । सञ्चालक फरार छ । म्यानपावर भने चलिरहेको छ,’ उनले भने ।