Monday, July 16, 2018

९५ प्रतिशत रोपाइँ सकियो



९५ प्रतिशत रोपाइँ सकियो
News source : eKantipur
जिल्लामा ९५ प्रतिशत रोपाइँ सकिएको छ । समयमै पर्याप्त वर्षा भएपछि असारभित्रै यति रोपाइँ भएको जिल्ला कृषि कार्यालयका प्रमुख लोकेन्द्र बोहोराको भनाइ छ ।

 आकाशे पानीको भर पर्नुपर्ने, टारीखेत, मकै नपाकेका खेत र एकैपटक रोपाइँ नहुँदा ५ प्रतिशत मात्र रोपाइँ बाँकी रहेको उनले जनाए । उनका अनुसार विगतमा भन्दा यसपटक चाँडो रोपाइँ भएको हो । ‘सहरी क्षेत्रका खेतीयोग्य जमिनमा घर बनाउने गर्दा पनि धानखेती गर्ने जमिन घटेकाले यसपटक छिटो रोपाइँ भयो,’ उनले भने । कास्कीमा २४ हजार हेक्टरमा धानखेती हुन्छ । करिब २ हजार हेक्टर घटेको अनुमान कार्यालयको छ ।पछिल्लो समय युवा विदेश जाने क्रम बढेको र सहरका धेरैजसो जग्गा प्लटिङ गरिएकाले धानखेती घटदै गएको कार्यालयको भनाइ छ । भलामकी किसान सीता बयलकोटीले अधिकांश खेतमा रोपाइँ सकिएको बताइन् । ‘मकै भएको बेंसी क्षेत्रमा एक सातादेखि धमाधम रोपाइँ भइरहेको छ,’ उनले भनिन्, ‘एक–दुई दिनमै सबै खेतमा धान रोपेर सकिन्छ ।’ खेतला र पानीको एकसाथ मेसो मिलेको भए अझै छिटो रोपाइँ सकिने अर्का किसान रामबहादुर खत्रीले बताए । ‘आजसम्म त सबै रोपाइँ सकिनुपर्ने हो,’ उनले भने, ‘तर खेतला पाउँदा पानी नहुने, पानी हुँदा खेताला नपाउने समस्याले केही ढिलो भयो ।’

No comments:

Post a Comment