Showing posts with label विवाह गर्ने उमेर अब २० वर्ष. Show all posts
Showing posts with label विवाह गर्ने उमेर अब २० वर्ष. Show all posts

Monday, August 6, 2018

विवाह गर्ने उमेर अब २० वर्ष


विवाह गर्ने उमेर अब २० वर्ष
काठमाडौँ — हालसम्मको कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो । अब भने यस्तो विवाह रद्द नै हुनेछ । वि.सं. १९१० सालमा तत्कालीन श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाले बनाएको मुलुकी ऐन विस्थापित गरी भदौ १ देखि लागू हुन लागेका ६ कानुनी संहिता र त्यससम्बन्धी कार्यविधिमा बालविवाह र बहुविवाहसम्बन्धी नयाँ व्यवस्था गरिएको हो ।

सर्वाेच्च अदालतले ती संहिताका कतिपय प्रावधान संविधानअनुरूप बनाउन आदेश दिएपछि कानुन मन्त्रालयले संशोधन प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको छ । केही दिनभित्रै संशोधन प्रस्ताव संसद्मा लैजाने सरकारको तयारी छ । देवानी र अपराध संहितामा विवाहसम्बन्धी प्रावधान बाझिएपछि सरकारले एकरूपता कायम गर्न संशोधन प्रस्ताव पेस गर्न लागेको हो । संशोधनअनुसार अब विवाह गर्न पाउने न्यूनतम उमेर २० वर्ष हुनेछ ।

‘हालसम्म महिलाको १८ र पुरुषको २० वर्षलाई विवाह गर्ने न्यूनतम उमेर मानिँदै आएको थियो,’ कानुन मन्त्रालयका प्रवक्ता रमेश ढकाल भन्छन्, ‘तर यो संवैधानिक र लैंगिक समानताका आधारमा ठीक र बराबरी देखिएन, त्यसैले केटाकेटी दुवैको विवाह गर्न अब २० वर्ष उमेर पुग्नैपर्छ ।’ नयाँ कानुनअनुसार तोकिएभन्दा कम उमेरका केटाकेटीको विवाह गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाका साथै विवाह पनि स्वत: बदर हुनेछ । बहुविवाहको सजायमा पनि दोषीलाई प्रचलनमा रहेको एक वर्षसम्मको कैदको बदला ५ वर्षसम्म कैद हुन सक्ने प्रावधान नयाँ कानुनमा छ । कानुनअनुसार यस्तो विवाह स्वत: बदर हुनेछ । संशोधन प्रस्तावमा दुवै कार्यविधि संहिता पहिल्यै भइसकेका अपराधका हकमा पनि लागू हुने व्यवस्था छ । कार्यविधि कानुन भनेको अदालतमा मुद्दा चल्दा तारेख लिने, साक्षी तथा प्रमाणलाई बुझ्ने, मुद्दा गर्ने हदम्यादलगायत प्राविधिक पक्ष समेटिएको दस्तावेज हो ।

भदौ १ देखि अदालतमा चल्दै गरेका पहिलेका मुद्दामा पनि अपराध र देवानी संहितासम्बन्धी कार्यविधि नै लागू हुनेछन् । भदौ अगाडिका घटनामा चलेका मुद्दामा भने पहिलेकै कानुनअनुसार सजाय दिइनेछ ।