Friday, July 20, 2018

विद्युत् प्राधिकरणका २२ ठेक्का अधुरै


विद्युत् प्राधिकरणका २२ ठेक्का अधुरै

तीन महिनामा सक्नुपर्ने ठेक्का चार वर्षमा पनि सकिएन ।
तीन महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७१ मा जिम्मा लिएका ठेकेदारले अहिलेसम्म विद्युत् प्रसारण लाइन निर्माण गरेका छैनन् । काम सम्पन्न नहुँदा मालिकार्जुन गाउँपालिका ५ डाँडाकोटका स्थानीय विद्युत्विहीन छन् । डाँडाकोट, सर्मोली, खरकडा, मालिकार्जुन र भगवतीका स्थानीयवासी विद्युत् उपभोग गर्नबाट वञ्चित भएका हुन् । नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाले करिब ३ महिनामा निर्माण सम्पन्न गर्न निकालेको टेन्डरमा आरडी बिल्डर्स एन्ड सप्लायर्सको ठेक्का सम्झौता भएको थियो । डाँडाकोट र सर्मोलीमा विद्युतीय प्रसारण लाइन निर्माण गर्न उक्त निर्माण कम्पनीको ठेक्काको म्याद ६ पटक थपिँदा पनि निर्माण कार्य सम्पन्न हुन सेकेको छैन ।

‘२०७२ वैशाख १ गते ठेक्का सम्झौता भई असार २५ गतेसम्म सक्नुपर्ने काम अहिले पनि अलपत्र अवस्थामा छ,’ लेकम गाउँपालिका ६ सर्मोलीका एकेन्द्र साउदले भने, ‘सबै ठाउँमा पोल गाडिएको छैन, तार तान्नु त परै जाओस् ।’ विद्युत् प्राधिकरण अत्तरियाको दार्चुला वितरण केन्द्रका अनुसार उक्त ठेक्कामा अहिले ६० प्रतिशत मात्र काम भएको छ । उक्त ठेक्काको ६ पटक म्याद थपिएको र सातौंपटक म्याद थप्न देशको असहज परिस्थिति, निर्वाचन आचारसंहिता लगायतका कारणले माथिल्लो निकायबाट पोल, तार र ट्रान्सफर्मर ढुवानी हुन नसक्दा निर्माण कार्य प्रभावित भएको प्रतिवेदन तयार गरिएको छ । उक्त ठेक्कासँगै सोही मितिमा सम्झौता भएका शिखरलटिनाथ अमर अनिल निर्माण सेवाको मालिकार्जुन भगवती प्रसारण लाइन निर्माण र गोरखनाथ निर्माण सेवाको खरकडामा विद्युत् प्रसारण लाइन निर्माणको काम अलपत्र परेको स्थानीयले जनाएका छन् । शिखर लटिनाथ अमर अनिल निर्माण सेवाको ७० प्रतिशत र गोरखनाथको ६० प्रतिशत काम भएको वितरण केन्द्र दार्चुलाले जनाएको छ । 

आव २०७१/०७२ देखि गत आवसम्म सम्झौता भएका ३६ ठेक्कामध्ये २२ ठेक्का अलपत्र अवस्थामा छन् । आव ०७१/७२ का ८ मध्ये ५ मा ट्रान्सफर्मर राख्न बाँकी थियो । अन्य ३ ठेक्काको भने धेरै काम बाँकी रहेको दार्चुला वितरण केन्द्रका सुपरभाइजर मीनराज पन्तले जानकारी दिए । आव २०७३/०७४ मा विद्युत् प्राधिकरणसित सम्झौता भएका ११ ठेक्कामध्ये ७ मा ट्रान्सफर्मर राख्न बाँकी तथा ४ वटा ठेक्काहरू अलपत्र अवस्थामा छन् । अलपत्र ठेक्काहरूमा ५० देखि ७० प्रतिशत काम भएको उनको भनाइ छ । २०७४ जेठ १४ गते सम्झौता भएका ११ ठेक्काको काम पनि हालसम्म सम्पन्न हुन सकेको छैन । ३/३ पटक म्याद थप गरेर पनि विद्युत् विस्तारको काम अलपत्र छन् । अझै चौथो पटक म्याद थप्ने प्रक्रियामा रहेको दार्चुला वितरण केन्द्रले जनाएको छ ।

महाकाली र शैल्यशिखर नगरपालिका तथा मालिकार्जुन, लेकम, दुहु, ब्याँस र मार्मा गाउँपालिकामा विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन जोड्ने जिम्मेवारी पाएका निर्माण व्यवसायीले काम नगर्दा ठेक्काहरू अलपत्र रहेका हुन् । ठेकेदारले ट्रान्सफर्मर, पोल, तार र अन्य मालसामान प्राधिकरण समयमै उपलब्ध नगराउँदा निर्माण कार्यमा ढिलाइ भएको निर्माण व्यवसायीले बताएका छन् । 

थालीगाड सबस्टेसन पनि अलपत्रचमेलियामा उत्पादन भएको विद्युत्लाई जिल्लाका विभिन्न ठाउँमा वितरण गर्न महाकाली नगरपालिका ६ थालीगाडमा निर्माण हुन लागेको ३३ केभीए सबस्टेसनको काम पनि अहिले अलपत्र अवस्थामै छ । सामुदायिक वनको कारण देखाउँदै विद्युत् प्राधिकरण कार्यालय र ठेकेदारले पछिल्लो समय सबस्टेसनको निर्माण कार्य अलपत्र अवस्थामा राखेका छन् । ७ करोडको लागतमा ४ वर्ष अगाडिबाट निर्माण कार्य थालेको भए पनि अझै सम्पन्न हुन सकेको छैन ।

‘सबस्टेसन निर्माण कम्पनीले बनाउँदै गथ्र्यो,’ दार्चुला वितरण केन्द्रका कर्मचारीले भने, ‘प्रसारण लाइन पनि निर्माण गरेको भए ११ केभी क्षमताको विद्युत् ल्याएर विभिन्न ठाउँमा वितरण गर्न सकिन्थ्यो ।’ २५ किमि गोकुलेश्वर थालीगाड ३३ केभी प्रसारण लाइन सामुदायिक वनका कारण रोकिएको दार्चुला वितरण केन्द्रले जनाएको छ ।


No comments:

Post a Comment