Sunday, July 22, 2018

मानव बेचबिखनमा पूर्वी नाकाको प्रयोग


मानव बेचबिखनमा पूर्वी नाकाको प्रयोग

जिल्लाका पूर्वी नाकालाई चेलीबेटी विदेश लैजाने नाकाका रूपमा प्रयोग हुँदै आए पनि रोकथामको भरपर्दो उपाय निकालिएको छैन । पशुपतिनगरलगायत चोर बाटोको प्रयोग गरेर चेलिबेटी भारत छिराउने गरिएको त्यहाँस्थित माइती नेपाल र सुरक्षा निकायले बताउँदै आएको छ ।

माइती नेपालले हरेक वर्ष सार्वजनिक गर्ने तथ्यांकमा पनि यी नाकाहरूको प्रयोग बढदो क्रममा देखिएको छ । पशुपतिनगरसहित मानेभञ्ज्याङ, हिले, छिरुवासहित झन्डै दर्जन नाकाबाट सीमापार गराइने गरेको उनीहरूको भनाइ छ ।कतिपय क्षेत्रमा प्रशासनको उपस्थिति नहुनु र कतिपय क्षेत्रवाट विभिन्न बहाना बनाएर सीमा कटाउने गरेको अवस्था देखिएको छ । पशुपतिनगरमा रहेको माइती नेपाल र केही स्थानमा रहेका प्रहरी चौकीले समस्या घटाउन निरन्तर पहल गरेको दाबी गरेका छन् । तर स्थानीयले मुलुकभरबाट यही नाका प्रयोग गरी दलालले चेलिबेटी भारत पुर्‍याउने तथ्य थाहा पाएर पनि ठोस कदम नचालिएको गुनासो गरेका छन् । आँकडाअनुसार जिल्लाभित्रका भन्दा पनि अन्यत्रबाट यी नाका प्रयोग गरी बाहिर लैजाने गरिएको देखिन्छ ।

पशुपतिनगर फाटकमा माइती नेपालले प्रहरीसँग मिलेर नियमित चेकजाँच गर्ने र स्थानीयलाई चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । तर यसले मात्र समस्या समाधान नभएकाले राज्यले ठोस नीति लिनुपर्ने सरोकारवालाको भनाइ छ । जौवारी, मानेभञ्ज्याङ, पशुपतिनगर, छब्बिसे र शान्ति बजारमा प्रहरीको उपस्थिति छ । ‘समस्यालाई गम्भीर रूपमा लिएर प्रयास जारी राखिएको छ,’ प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भने, ‘प्रशासनको उपस्थिति बढाउँदै अन्य उपायबाट पनि नियन्त्रणमा लागेका छौं ।’ खुला सीमाका कारण नै रोक्न कठिन भएको उनको भनाइ छ । माइती नेपालको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १ सय ९५ जनालाई नाकामा रोकिएको छ । यो अवधिमा १८ जनालाई उद्धार गरिएको छ । ६३ जना हराएको उजुरी परेकामध्ये २२ जना फेला पारिएको छ । ‘हामीले रोकथाम अभियानलाई निरन्तरता नदिएको होइन,’ पशुपतिनगरस्थित माइती नेपालको अध्यावधिक गृहका प्रमुख होम ढकालले भने, ‘दलालले फेरिरहने शैली र तरिकाले पनि झुक्याउन सफल भएको पाइन्छ ।’ बेचबिखनमा संलग्न पक्राउ पर्न नसक्नुले पनि समस्या बढ्दै गएको सरोकारवालाको भनाइ छ । 

जिल्लाको पूर्वी अधिकांश क्षेत्र पर्यटकीय महत्त्वका भएकाले पनि यसको फाइदा पनि दलालले उठाउन सक्ने प्रहरीको आशंका छ । ‘सीमित ठाउँमा रहेका प्रहरी पोस्ट र माइती नेपालका कार्यकर्तालाई झुक्याउन यो माध्यम पनि अपनाइएको हुन सक्छ,’ उनले भने ।

No comments:

Post a Comment