Saturday, August 4, 2018

जोशीले भने– ममाथि असाध्यै अन्याय भयो


काठमाडौँ — प्रधानन्यायाधीश हुन अयोग्य ठहर्‍याइएका दीपकराज जोशीले संसदीय सुनुवाइ विशेष समिति बिनाआधार, बिनाप्रमाण एवं हचुवाका भरमा आफ्नो प्रमाणपत्रबारे निचोडमा पुगेको दाबी गर्दै स्वतन्त्र निकायबाट यसको छानबिन गर्न माग गरेका छन् ।
‘प्रमाणपत्रबारे आधिकारिक निकायबाट अध्ययन अनुसन्धान नै नगरी, स्वतन्त्र निकायको अध्ययन अनुसन्धानबिना नै बिनाआधार, बिनाप्रमाण एवं हचुवाका भरमा आशंका तथा चर्चा परिचर्चा भइरह्यो । त्यस्तो चर्चा परिचर्चा तथ्य, प्रमाण र प्रामाणिक निकायबाट निक्र्योल नै नभई सार्वजनिक भएका व्यक्तिगत धारणा र विचारका आधारमा भएका थिए । आधिकारिक निकायको अध्ययनबिना नै मेरा प्रमाणपत्रका विषयमा सम्मानित संसदीय सुनुवाइ विशेष समितिले धारणा बनाउँदा मलाई असाध्यै अन्याय भएको छ,’ शनिबार साँझ विज्ञप्ति निकाल्दै उनले भनेका छन्, ‘तत्कालीन श्री ५ को सरकार शिक्षा मन्त्रालयको परीक्षा महाशाखाबाट एसएलसीसरह समकक्षी नेपाल राष्ट्रिय विद्यापीठमा मैले २०२९ सालको ब्याचमा परीक्षा दिई २०३० वैशाख ३० गते प्रवेशिका परीक्षा उत्तीर्ण गरेको तथ्यलाई नजरअन्दाज गरी विभिन्न सार्वजनिक सञ्चार माध्यममा सम्प्रेषण भएको विषयलाई आधार मानी मेरा शैक्षिक प्रमाणपत्रहरूको आधिकारिकता सम्बन्धित निकायबाट बुझै नबुझी बनाइएको धारणा तथ्यपरक नभई हचुवा र अनुमानका आधारमा भएको विषयमा विवाद छैन । ती प्रमाणपत्रहरू शिक्षा मन्त्रालयको परीक्षा विभागले र सम्बन्धित परीक्षा बोर्डले जारी गरेको विषयमा बुझ पचाई मेराविरुद्धमा प्रचारबाजीसमेत गरियो । मैले तत्कालीन अवस्थामा दिएको एसएलसीसरहको प्रवेशिका परीक्षाका लागि जारी भएको प्रवेशपत्रमा उल्लेख भएको क्रमांक एवं शैक्षिक प्रमाणपत्रहरूमा सोही नम्बर उल्लेख भएको एवं गोरखापत्रमा समेत सोही नम्बर प्रकाशित भएको तथ्य स्पष्ट भइरहेकोमा जुन निकायबाट परीक्षा दिएको हो सोही परीक्षा बोर्डबाट रुजु गर्नुपर्नेमा त्यसरी रुजु नगरी हचुवाका आधारमा गरिएको चर्चा परिचर्चा र त्यसै आधारमा बनाइएका धारणाले मेरो व्यक्तिगत मानमर्दन गरेको मात्रै नभई सो बोर्ड, सो बोर्डबाट शैक्षिक योग्यता हासिल गरेका सम्पूर्ण महानुभाव र न्यायपालिकालाई नै बदनाम गरिएको छ । यसलाई मैले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरी न्यायालयलाई विस्तारै कमजोर बनाई आफ्नो अभीष्ट पूरा गर्ने तथ्यहरू सक्रिय भएको चरम अवस्थाको रूपमा समेत बुझेको छु ।’ 

उनले आफूले नेपाल राष्ट्रिय विद्यापीठ काठमाडौं केन्द्रबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेको र त्यस समयमा एसएलसी वा प्रवेशिकाका लागि दुइटा छुट्टाछुट्टै बोर्डको व्यवस्था रहेको बताएका छन् । एसएलसी बोर्डका अलावा शिक्षा मन्त्रालयको परीक्षा विभागकै अन्तर्गत नेपाल राष्ट्रिय विद्यापीठ (एनआरभी) नामको बोर्ड सञ्चालनमा रहेको र सोही अन्तर्गत परीक्षा पास भएको उनको भनाइ छ । 

‘न्यायाधीशका रूपमा पुनरावेदन अदालतमा बाइस वर्ष र सर्वोच्च अदालतमा चारवर्ष काम गर्दा कहिल्यै प्रमाणपत्रमा प्रश्न नउठेकोमा प्रधानन्यायाधीश हुने अवस्थामा नियतवश ममाथि खुँडा चलाइरहँदा समेत सम्मानित संदीय सुनुवाइ समितिले उचित अनुसन्धान बिना नै निर्णय गर्नु आफैमा आश्चर्यजनिक विषय बनेको छ । बिना अध्ययन, अनुसन्धान निर्णय हुनै सक्दैन भन्ने मेरो धारणा थियो । किनभने यस्तो विषय प्राकृतिक न्यायको सिद्धान्तका आधारमा कदापि सुहाउँदैन’, उनले भनेका छन्, ‘भगवान गौतम बुद्धको एउटा चर्चित भनाइ अहिले मेरो कानमा गुन्जिरहेको छ । सूर्य, चन्द्र र सत्यलाई सधैं लुकाउन सकिँदैन भन्ने उहाँको अर्ति अहिले मेरो जीवनमा आकर्षित भएको छ । भगवान गौतम बुद्धको उक्त अर्तिबाटै स्पष्ट हुन्छ, सत्य त्यति नै बलियो हुन्छ जति सूर्य र चन्द्रमाको अस्तित्व छ ।’

उनले पूर्वाग्रह प्रेरित भई गरिएको संसदीय सुनुवाइ विशेष समिति निष्कर्षमा पुगेको दाबी गरेका छन् । ‘यस्तो अवस्थामा मेरा प्रमाणपत्रको विषयमा स्वतन्त्र निकायबाट छानबिन गरी सत्य पत्ता लगाउन संवैधानिक परिषद् र नेपाल सरकारबाट उचित कदम चालिनेछ भन्ने मेरो अपेक्षा सार्वजनिक गरेको छु’, उनले भनेका छन् ।

Tuesday, July 31, 2018

१६ नेपाली महिलाको उद्धार


१६ नेपाली महिलाको उद्धार
नयाँदिल्ली — दिल्लीस्थित मुर्निकाको एक घरबाट उद्धार गरिएका १६ नेपाली युवती काठमाडौं पुगेकै दिन बन्धक बनाएर राखिएका थप १६ को मंगलबार उद्धार गरिएको छ । नयाँदिल्लीको इग्नो रोड, साकेतमा राखिएका दुई भारतीयसहित १८ महिलालाई नेपाली दूतावास र स्थानीय प्रहरीले उद्धार गरेको हो ।
उद्धार गरिएका नेपाली महिलालाई कतार र कुवेत पठाउने भन्दै वैदेशिक रोजगारको गिरोहले एउटा साँघुरो कोठामा बन्धक बनाएर राखेको थियो। उनीहरूमध्ये केहीलाई भैरहवाबाट सिधै र केहीलाई बनारसको बाटो हुँदै दिल्ली पुर्‍याइएको थियो। दुई साताअघि उत्तर प्रदेशको बनारसमा वैदेशिक रोजगारका लागि अवैध रूपले तेस्रो मुलुक पठाउने भन्दै डढ सय नेपाली महिलालाई बन्धक बनाएको उजुरी परेपछि नेपालबाट आएको प्रहरी, दिल्लीस्थित नेपाली दूतावासका प्रतिनिधि र बनारसको स्थानीय प्रहरीको संयुक्त टोलीले छापा मारेको थियो। छापा मार्नुअघि नै बन्धक बनाइएका महिलालाई भगाइएकाले उक्त टोली त्यत्तिकै फर्किएको थियो। उनीहरूलाई दिल्ली पुर्‍याइएको हुन सक्ने बनारस प्रहरीको आशंका थियो।

उक्त प्रकरणमाथि छानबिन गरिरहेको बनारस प्रहरीकै सूचनाका आधारमा दूतावासका प्रतिनिधि र स्थानीय प्रहरीको संयुक्त टोलीले छापा मारेको हो। उद्धार गरिएका महिलामध्ये केहीले आफूहरूलाई केही दिनअघि मात्र बनारसबाट ल्याइएको बताएका छन्। बाँकीलाई सिधै भैरहवाबाट दिल्ली लगिएको खुलेको छ। उद्धार गरिएका सबैलाई मंगलबार दिल्ली महिला आयोगको आश्रयस्थलमा राखिने र कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काइने दूतावासले जनाएको छ।

यसअघि गत मंगलबार मध्यरातमा उद्धार गरिएकाहरूलाई दूतावासले मंगलबारै नेपाल एअरलाइन्सको नियमित उडानबाट काठमाडौं पठाएको छ।

Monday, July 30, 2018

लिम्बूको उद्धार गर्न ब्लडमनी संकलन सुरु


लिम्बूको उद्धार गर्न ब्लडमनी संकलन सुरु
काठमाडौँ — झन्डै ३१ लाख ५९ हजार रुपैयाँ ब्लडमनी र क्षतिपूर्ति तिर्न नसकेर साउदी अरबबाट निस्कन नसकेका प्रशान्त लिम्बूलाई उद्धार गर्न प्रवासी नेपाली समन्वय समितिले सोमबारदेखि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ ।
सवारी अनुमतिबिनै गाडी चलाउँदा दुर्घटनामा परेका बुद्धशान्ति–४, झापाका लिम्बूले अदालतमा १ लाख १२ हजार ५ सय रियाल (३१ लाख ५० हजार रुपैयाँ) बुझाएपछि मात्रै स्वदेश फर्कन पाउने जानकारी नेपाली दूतावासले दिएको छ । अदालतको फैसलाअनुसार लिम्बूले ८ महिनाको जेल सजाय भुक्तान गरेका छन् ।

२९ अप्रिल २०१७ मा उनले चलाएको गाडीलाई पछाडिबाट आएको गाडीले ठक्कर दिँदा साउदी नागरिकको ज्यान गएको थियो ।

‘अदालतको २०१८ मे १५ को फैसलामा दुर्घटनामा लिम्बूको ७५ प्रतिशत गल्ती देखाई ब्लडमनीबापत साउदी रियाल २ लाख २५ हजार तिर्न आदेश दिइएको छ, दुर्घटनामा एउटा कार पनि क्षति भएकाले क्षतिपूर्तिबापत साउदी रियाल १५ हजार तिर्नुपर्ने फैसला भएको छ,’ नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ, ‘ब्लडमनी एवं क्षतिपूर्तिको आधा रकम लिम्बूले र आधा कम्पनीले तिर्नुपर्नेछ ।’लिम्बूसँग सवारी लाइसेन्स नभएको र गाडीको बिमासमेत नभएकाले साउदी अदालतले चालकको ७५ प्रतिशत दोष देखाएको हो ।

‘म काम गर्ने कम्पनीमा कसैको पनि लाइसेन्स छैन,’ लिम्बूले भने, ‘लाइसेन्सबिना गाडी चलाउँदिनँ भन्दा मालिक पिट्न आए । उनले तलमाथि भए जिम्मेवारी लिन्छु भनेका थिए तर दुर्घटनामा परेपछि पन्छिए । मालिकले मेरो जिम्मेवारी नलिएपछि कम्पनीमा कार्यरत २५ नेपाली ड्राइभरले छाडेर हिँडिसके ।’ परिवारको सहमतिमा प्रवासी नेपाली समन्वय समितिले ब्लडमनी संकलन गर्न अभियान थालेको हो ।

‘हामीले एक वर्षदेखि उहाँको उद्धारका लागि राज्यको ढोका ढक्ढकाइरहेका छौं’, लिम्बूकी श्रीमती कमलाले भनिन्, ‘साउदीबाट निकाल्नका लागि रकम बुझाउनैपर्ने स्थिति भयो । हामी आफैंले यत्रो रकम जुटाउन सक्ने स्थिति छैन ।’

Sunday, July 29, 2018

शिक्षक : माग करिब १३ हजार, आवेदन दुई लाख २५ हजार



शिक्षक : माग करिब १३ हजार, आवेदन दुई लाख २५ हजार
काठमाडौँ — शिक्षक सेवा आयोगले करिब तेह्र हजार शिक्षकको माग गरेकोमा दुई लाख २५ हजारभन्दा बढी आवेदन परेको छ । आयोगले झण्डै छ वर्षपछि खुल्ला प्रतियोगिताबाट पदपूर्तिको तयारी गरेको हो । 
आयोगले संविधानमा भएको व्यवस्थाअनुसार ७५ प्रतिशत आन्तरिकको पदपूर्तिको परीक्षा गत असार अन्तिम साता लिइसकेको छ भने बाँकी २५ प्रतिशतको खुल्लातर्फ आवेदन गर्न साउन पहिलो सातासम्म समय दिएको थियो ।

प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका गरी १२ हजार ७ सय ३९ दरबन्दीमा पदपूर्ती गर्न लागेको हो । आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपरियाका अनुसार २ लाख २५ हजारभन्दा बढीले आवेदन गरेको प्रारम्भिक अनुमान रहेको छ । ‘विद्यमान कानुनी संरचनाका आधारमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक शिक्षकका लागि विज्ञापन गरिएको हो,’ उत्साहजनक सहभागिता देखिएको छ । उनले थपे, ‘प्राथमिक तहको हकमा छ वर्षपछि र निमावि तथा माविको तीन वर्षपछि खुल्ला विज्ञापन गरिएको हो ।’ आयोग अन्तर्गत १ लाख ७ हजार शिक्षक दरबन्दी रहेको छ ।

आगामी असोज ११ गतेबाट तीन दिनसम्म हुने परीक्षामा प्राथमिक तहको रिक्त दरबन्दी ९ हजार ९ सय ९६ रहेको छ । त्यसैगरी निमावि तहमा १ हजार ६ सय ३५ र मावि तहका १ हजार १ सय ८ जना पद खाली छन् । शिक्षा शास्त्र विषय पढेर शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) प्राप्त व्यक्तिले प्रतिस्पर्धा गर्न पाउँछन् । आयोगको तथ्यांकअनुसार कार्यरतसहित सात लाख जनाले लाइसेन्स प्राप्त गरेका छन् ।
आयोगले अस्थायी शिक्षकलाई आन्तरिक खुल्ला पदपूर्ति गर्नका लागि परीक्षा गत असार २९ र ३० गते लिएको थियो । उक्त परीक्षा चार पटकसम्म रोकिएको थियो । करिब २५ हजार रिक्त दरबन्दी मध्ये २२ हजार ७६ शिक्षकले परीक्षा दिएका छन् । धेरैपटक परीक्षा स्थगित भएकाले सबै तहमा परीक्षार्थी संख्या पुग्न नसकेको आयोगले जनाएको छ । ‘पद रिक्त भएपनि माग अनुसारको प्रतिस्पर्धीको आवेदन परेन,’ आयोगका प्रशासकीय प्रमुख थपलियाले भने, ‘हामीले तिनै कोटासमेत खुल्लामा परिणत गरेका छौं ।’

‘अबको एक वर्षभित्र कुनै पनि अस्थायी शिक्षक रहने छैनन्,’ थपलियाले भने, ‘कार्यतालिकाअनुसार फागुन–चैतमा विज्ञापन हुनेछ । हरेक ६ महिनामा रिक्त दरबन्दीमा पदपूर्ति गरिने छ । वार्षिक तीन हजार जनाको रिक्त पदपूर्ति हुनेछ ।’ शिक्षकको परीक्षा प्राथमिक तहमा कुनै विषय नतोकिने र निमाविदेखि विषय तोकेर परीक्षा लिइने भएकाले समस्या नआउने उनको दावी छ ।

Thursday, July 26, 2018

अब सबै कर्मचारीको अवकाश उमेर ६० वर्ष मात्र

छिट्टै विधेयक मन्त्रिपरिषद्‌मा पेस गर्छौं : सामान्य प्रशासन सचिव 

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती, स्वास्थ्य सेवा र संसद्सहित सबै सेवाका कर्मचारीको अवकाश उमेर ६० वर्ष कायम गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजाने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले ‘संघीय निजामती कर्मचारी ऐन विधेयक २०७५’ मा सबै सेवाका कर्मचारीको अवकाश उमेर ६० वर्ष कायम गर्ने प्रस्ताव गरिएको जानकारी दिए । उनले विधेयकको मस्यौदा कानुन मन्त्रालयबाट फिर्ता आएलगत्तै मन्त्रिपरिषद् पेस गरिने बताए ।

‘निजामतीसहित सबै सेवाका कर्मचारीको अवकाश उमेर समान गर्ने सुझाव सबैतिरबाट आएकाले विधेयकमा ६० वर्ष कायम गर्ने प्रस्ताव गरिएको हो,’ उनले कान्तिपुरसित भने । अर्थ मन्त्रालय, लोकसेवा आयोग र संघीय प्रशासनिक पुन:संरचना समितिले निजामती र अन्य सेवाका कर्मचारीमा समानता ल्याउन अवकाश उमेर ६० वर्ष कायम गर्न सुझाव दिएका थिए ।

अर्थ मन्त्रालयले ‘संघीय निजामती कर्मचारी ऐन विधेयक २०७५’ मा कर्मचारीको उमेर हद ६० वर्ष कायम गर्न असार १७ मा सामान्य प्रशासन मन्त्रालयलाई सुझाव दिएको थियो । अर्थले सरकारमाथि बर्सेनि थपिँदै गएको निवृत्तिभरण (पेन्सन) को बोझ, औसत आयुमा भएको वृद्धि, सबै सेवा र तहमा देखिएको अवकाश प्राप्त उमेरको विविधता र नयाँ संरचनामा अनुभवी कर्मचारी आवश्यकतालाई समेत दृष्टिगत गरी अवकाश उमेर ६० वर्ष कायम गर्न सामान्य प्रशासन मन्त्रालयलाई सुझाव दिएको थियो । सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार काशीराज दाहाल अध्यक्ष रहेको संघीय प्रशासनिक पुन:संरचना समितिले नेपालीको औसत आयु बढेको, अनुभवी जनशक्ति गुम्ने, पेन्सनको व्ययभार बढ्ने र सबै सेवाका कर्मचारीको उमेर हदमा एकरूपता ल्याउनुपर्ने तर्क गर्दै अवकाश उमेर ६० वर्ष कायम गर्न सुझाएको थियो ।

लोकसेवा आयोगले पनि सबै समूहका कर्मचारीको अवकाश उमेरमा एकरूपता ल्याउन ६० वर्ष कायम गर्नु उपयुक्त हुने सुझाव दिएको थियो । अहिले स्वास्थ्य सेवा र संसद् सेवाका कर्मचारीको अवकाश उमेर ६० वर्ष छ ।

सामान्य प्रशासन मन्त्रालयले अर्थको सुझावलाई समेत ध्यानमा राखेर दोस्रोपटक मस्यौदा राय–सुझावका लागि कानुन मन्त्रालयमा पेस गरेको थियो ।

यसअघि सामान्यले कानुन मन्त्रालयमा सहमतिका लागि पेस गरेको मस्यौदामा निजामती कर्मचारीको अवकाशको उमेर ५८ नै कायम गर्ने प्रस्ताव गरेको थियो । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित भने ५८ वर्ष कायम गर्नुपर्ने पक्षमा थिए ।

सूचना प्रविधि, ज्ञान, भाषामा पोख्त नयाँ पुस्तालाई निजामती सेवाप्रति प्रोत्साहित गर्न उमेर हद बढाउन नहुने तर्क पण्डितको थियो ।

Wednesday, July 25, 2018

केसीको स्वास्थ्य अत्यन्त जटिल


केसीको स्वास्थ्य अत्यन्त जटिल
काठमाडौँ — डा. गोविन्द केसीको आमरण अनशन तत्काल नरोकिए उनलाई गुमाउनुपर्ने स्थिति आउन सक्ने चेतावनी चिकित्सकले दिएका छन् । 
‘हामी उनको स्वास्थ्यबारे जानकारी दिन नियुक्त आधिकारिक व्यक्ति होइनौं तर २–३ दिनमा अनशन रोकिएन भने उहाँ कोल्याप्स हुने स्थितिमा पुग्न सक्नुहुन्छ,’ त्रिवि शिक्षण अस्पतालका आईसीयू विभागसँग सम्बन्धित एक चिकित्सकले कान्तिपुरसँग भने, ‘उहाँको अत्यन्त जटिल अवस्थाबारे आधिकारिक व्यक्तिलाई हामीले जानकारी दिइसकेका छौं ।’

उनका अनुसार डा. केसीले उपचार गराउन अस्वीकार गर्दै आएका छन् । ६१ वर्षीय डा. केसीले १५ औं आमरण अनशन सुरु गरेको बुधबार २६ दिन पुगेको छ । ‘जुनसुकै बेला अचेत बन्न सक्ने अवस्था छ,’ ती चिकित्सकले भने, ‘यस्तो भयो भने भविष्यमा दु:खद स्थिति निम्तिन सक्छ ।’ प्रा.डा. दिव्यासिंह शाहले समेत डा. केसीको अवस्था अत्यन्तै कमजोर भएको बताइन् । उनका अनुसार डा. केसीलाई बुधबार साँझसम्म तीनपटक बान्तासमेत भएको छ । मंगलबारदेखि नै मुटुको चालमा समेत गडबडी देखिएको छ ।

छाती दुखाइ एकदमै बढेको छ भने रगतमा सुगरको स्तरमा कमी छ । शरीरमा व्यापक मात्रामा इलेक्ट्रोलाइट, लवण आदिको असन्तुलनसँगै रक्तचापसमेत घटेको छ । यो अवस्थामा पुगेको बिरामीलाई तुरुन्तै आईसीयूमा राखेर उपचार गर्नुपर्ने डा. सिंहले बताइन् ।


Tuesday, July 24, 2018

कानुन बनाउन अलमल


कानुन बनाउन अलमल

काठमाडौँ — स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार हो । यसलाई सबल र सक्षम बनाउनुपर्छ भन्ने मान्यता अनुरूप केन्द्रीय तहमा रहेका धेरैजसो अधिकार संविधानत: स्थानीय तहमा निक्षेपण भएका छन् । आफूले पाएका अधिकार उपयोग गर्न स्थानीय तह आफैंले कानुन पनि बनाउनुपर्छ ।
संविधानको अनुसूची ८ मा उल्लिखित २२ किसिमका अधिकार उपयोगका लागि स्थानीय सरकारले कानुन बनाउँदा प्रदेश कानुन बमोजिमका प्रक्रिया पनि अवलम्बन गर्नुपर्छ । स्थानीय तहले बनाउने कानुन प्रदेश कानुन र सङ्घीय कानुनसँग बाझिनु हुँदैन । संघ, प्रदेश र स्थानीय तीनै तहको साझा अधिकारको सूचीमा परेका (अनुसूची ९) १५ प्रकारका अधिकारसँग सम्बन्धित कानुन निर्माणमा पनि स्थानीय सरकारको त्यत्तिकै भूमिका रहनुपर्छ । 


संविधानले दिएका अधिकारसँग सम्बन्धित कानुनमात्र निर्माण गरेर स्थानीय सरकारलाई पुग्दैन । कानुनी प्रावधान कार्यान्वयनमा सहजीकरण गर्न नियमावली, निर्देशिका, कार्यविधि लगायतका नीतिगत व्यवस्थासमेत सँगसँगै हुनुपर्छ । स्थानीय विकास एवं सुशासन अभिवृद्धिका लागिमात्र स्थानीय सरकारले पाँच दर्जनभन्दा बढी कानुन बनाउनुपर्ने हुन्छ । स्थानीय सरकारले आफूलाई चाहिने कानुन बनाइसकेका छैनन् । कानुन निर्माणमा केन्द्रीय सरकारलाई जति सजिलो हुन्छ, त्यति स्थानीय तहको सरकारलाई नहुन सक्छ ।



स्थानीय तहका केही निर्वाचित जनप्रतिनिधि लगायत कर्मचारी तत्काल कुन–कुन कानुन बनाउन आवश्यक छ भन्ने बारेमा प्रस्ट देखिँदैनन् । स्थानीय सरकारको हैसियतले काम गर्न बनाउनुपर्ने कानुनका सम्बन्धमा केन्द्रीय सरकारले खण्ड–खण्डमा नमुना कानुन तयार गरी आंशिक सहयोग गरिरहेको देखिन्छ । आन्तरिक स्रोत अभिवृद्धिका लागि केन्द्रीय सरकारले स्थानीय सरकारका पदाधिकारी एवं कर्मचारीलाई सजगताका साथ तालिम, गोष्ठीमार्फत सघाइरहेको छ । कानुन निर्माणमा पनि त्यही अनुरूप सहयोग गर्न जरुरी छ । राजस्व सङ्कलन गर्ने विधिमा कानुनी त्रुटि हुन नदिन स्थानीय तहका पदाधिकारी, कर्मचारी लगायत सरोकारवाला सबै स्पष्ट हुनुपर्छ । 



स्थानीय तहहरूले कानुन बनाउन निकै जटिलता ब्यहोर्नु परिरहेको छ । कानुन निर्माण लगायत सबैजसो गतिविधि नयाँ ढङ्गले बढाउनुपर्दा जनप्रतिनिधिमा अन्योल हुनु अस्वाभाविक होइन । लामो समयपश्चात स्थानीय सरकारको हैसियतले काम गर्नेगरी स्थानीय तहमा जननिर्वाचित सरकारको बहाली हुनुले पनि जटिलता महसुस भएको हुनसक्छ । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहका कानुन सम्बन्धित नगर वा गाउँ सभाबाट पारित वा स्वीकृत हुनुपर्छ । नियमावली, निर्देशिका, कार्यविधि सम्बन्धित नगर वा गाउँ कार्यपालिकाबाटै स्वीकृत गरिन्छ । स्थानीय तहबाट बनाइएका कानुन स्थानीय राजपत्रमा प्रकाशन गर्नुपर्छ र स्थानीय तहको राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि समेत स्थानीय सरकारले नै बनाउनुपर्छ ।



स्थानीय सरकारको तुलनामा प्रदेश र केन्द्रीय सरकारलाई दक्ष जनशक्ति प्राप्त गर्न केही सहज छ । बाह्य क्षेत्रबाट विज्ञको परामर्श सेवा लिन पनि उनीहरूलाई सजिलो हुन्छ । दूरदराजमा रहेका गाउँपालिकामा आधारभूत पूर्वाधार विकास गर्न कठिन छँदै छ, भौगोलिक विकटताकै कारण विज्ञबाट परामर्श सेवा लिन पनि गाह्रो छ । 



धेरैजसो स्थानीय तहसँग कानुनको मस्यौदा बनाउन सक्ने जनशक्ति अभाव छ । कतिपय स्थानीय तहमा दैनिक कार्यसञ्चालनका लागि न्यूनतम प्रशासनिक तथा प्राविधिक जनशक्तिकै कमी छ । जनशक्ति व्यवस्थापनको समस्या विशेषगरी नयाँ नगरपालिका र सबैजसो गाउँपालिकामा बढी देखिएको छ । एकातर्फ स्थानीय तहमा नयाँ कर्मचारी भर्ना गर्न केन्द्रीय सरकारले रोक लगाइराखेको छ भने अर्कातर्फ केन्द्रीय सरकारले पनि स्थानीय तहमा स्वीकृत दरबन्दी अनुसारका सबै कर्मचारी पठाउनसकेको छैन । स्थानीय तहमा कर्मचारी व्यवस्थापनको सवालमा केन्द्रीय सरकार क्रमश: पछि पर्दै गएको भान हँुदैछ । यसको असर स्थानीय सरकारको कामकारबाहीमा पर्नेछ । 



दक्ष कर्मचारीको अभाव भयो भन्दैमा स्थानीय सरकारको हैसियतले गर्नुपर्ने काम नरोकिएलान् । कानुन निर्माण स्थानीय तहले बाह्य स्रोत परिचालन गरेर अर्थात् बाह्य क्षेत्रबाट विज्ञको परामर्श सेवा लिएर गर्न सक्छन् । बाह्य क्षेत्रबाट विज्ञ ल्याएर तयार गरिएको कानुनको मस्यौदालाई सम्बन्धित स्थानीय तहले सहजै ग्रहण गर्न सक्यो भने समस्या नहोला । नत्र कार्यान्वयनमा जटिलता आउन सक्छ । कानुनको मस्यौदा तयार गर्ने चरणदेखि सावधानी अपनाउनुपर्छ । 



स्थानीय तहले प्राप्त गरिसकेका संविगधान प्रदत्त अधिकारलाई सुरक्षित गर्न स्थानीय सरकार सजग भएन भने आगामी दिनमा निर्माण हुने प्रादेशिक कानुनहरूमा स्थानीय तहको अधिकारको फरक व्याख्या पनि हुनसक्छ । अधिकार सुरक्षणको पहिलो आधार भनेको अधिकारको समुचित प्रयोग हो । अधिकारको समुचित प्रयोगले स्थानीय तहको क्षमताको विश्वसनीयता पनि बढाउँछ । स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गर्न विधिसम्मत तरिका अवलम्बन गरी कानुन निर्माण गर्नुपर्छ । केन्द्रीय सरकारले स्थानीय सरकारलाई सबल बनाउनसके मात्र सङ्घीयताको मर्म जोगाउन र सुशासन कायम गर्न सजिलो हुन्छ । स्थानीय तहमा काम गर्ने दक्ष जनशक्तिको अभाव भएको सन्दर्भमा केन्द्रीय सरकारले स्थानीय सरकारलाई सहयोग गर्नुपर्छ । स्थानीय सरकारको संस्थागत क्षमता अभिवृद्धिका लागि केन्द्रीय सरकारले नीतिगत व्यवस्था गरेरै भए पनि केही समय सहयोग गर्नुपर्छ ।